१) माखो
एउटा माखो
यता उता उडिरहेको छ र
महामारी फैलाइरहेको छ!
मेरो हातमा बन्दुक छ
म मार्न खोजिरहेको छु
तर
सकिरहेको छैन
अहिले ऊ
मेरो देशको निधारमा बसेको छ!
२) बेअर्थ
यसपाला उसले खूब ध्यान दिएर
भनिएकै मुताबिक भोट हाल्यो
तर अचम्म
उसको भोकमरी जस्ताको तस्तै रह्यो!
३) प्रसव समय
यो ब्याउन लागेको समय हो, साथी!
हेरौँ के जन्मिन्छ
बिना निमोनिया र जन्डिसको
सन्तान जन्मिएछभने
दीपावली गरौंला
नत्र
यो साल यस्तै भयो भन्दै
अर्को साल कुरौँला!
४) भ्यागुताहरू
चुनाव सकिएपछि गाउँबाट उफ्रेर
संसदभवन आइपुगेका भ्यागुताहरू
आजभोलि गाउँतिरै
फुत्रुक ......... फुत्रुक गर्दैछन्!
५) मृत्यु
यति थोरै समय छ मसंग
अझ भनूँ छँदैछैन!
एकपटक
आनन्दले श्वास तानेर
फाल्ने समयपनि छैन!
यहीबेला तिमी भन्दैछ्यौ-
आऊ एउटा लामो यात्रामा निस्कौँ
ओहो
मलाई मर्ने फुर्सद छैन!
६) गोप्य कुरा
मैले कहिल्यै
सोधेको छैन भमरासंग-
फूलको कथा!
बिना अनुमति चुमेर उड्छन्
खै कस्तो सम्झौता छ!
तरपनि
आजसम्म देखेको छैन
फूलहरुको राँकेजुलुस
अनि बगैंचानै बन्द गरेर नफूलेका फूलहरू!
र देखेको छैन
प्रेमको बरदान पाएर
अमर भएका फूलहरू।
७) वेखबर
तिमी हावाजसरी छिर्यौ
मेरो जिन्दगीमा र
हावाजसरीनै निस्कियौ
मेरो जिन्दगीबाट
तर
पस्दा मेरो जीवनमा
अक्सिजन भएर पसेकी तिमी
निस्किँदा कार्वनडाइअक्साइड भएर निस्कियौ!
अहिले
मलाई त आनन्दैआनन्द छ
खै तिमीलाई कस्तो छ!
८) मृत्युचक्र
किरिङमिरिङ भएर जन्मेपछि हो
उनीहरुले खप्न नसकेका भोक
र होस गुमाएका
अनि निलेका आफ्नै आमालाई।
नखाँदा हुन् त आफ्नै आमाको मासु
त्यतिबेलै सकिने थियो उनीहरूको अस्तित्व!
र अहिले बाँचेका उनीहरू
भविष्यबारे वेखबर छन्!
९) म यस्तो हुँ, अमेरिका
म आगो हुँ
धेरै नजिकिने चेष्टा नगर
म पानी हुँ
मलाई थुन्ने प्रयास नगर
म बतास हुँ
समातेर राख्ने हिम्मत नगर्नू
म सागर हुँ
धेरै डुब्न नखोज
म आकाश हुँ
छोएँ भनेर नफुर्किनू
म धर्ति हुँ
कुल्चिएँ भनेर नमात्तिनू
अलिकति दुर अलिकति नजिक रहेर बस
यसैमा तिम्रो र मेरो भलाइ छ।
१०) गरीबको आत्मकथा
बिहानै
जब म निस्कन्छु-
सफा, सेतो र सुकिलो चुरोटजस्तो जिन्दगी लिएर
र साँझ केवल ठुटो भएर फर्कन्छु।
आनन्द बनेर धुवाँ अन्तै उड्छ
खरानी बनेर जिन्दगी अन्तै सकिन्छ।
अब-
स्नेहले ओठ जोड्ने कोही छैन
बरु
चाङमाथि चाङ बनेर उनीहरुसंगै बसिरहेछु एस्ट्रेमा
जो मजस्तै छन्!
११) अन्याय
आजपनि उडायो हुरीले-
खरको छानो!
निभायो सकिनसकि
फुकेको अगेनो!
बस्ती उडाएर बाटोमा पुर्याइदियो
बाटोहरु बस्तीभित्र साँघुरिए!
आखिर हुरी/आँधीले
गर्नसक्ने यत्ति न हो!
पहाडसंग हिमालसंग
जुध्न कहाँ सक्छ र यो!
के, जुध्नु अनि 'जितेँ' भन्नु
कमजोरलाई पछार्नु हो र?
१२) बैराग्य
बिहानै आमाको फोन आयो
मैले भनेँ-
"आमा यता त ठिकै छ, त्यता कस्तो छ?"
आमाले भन्नुभयो-
"यतापनि ठिकै छ!"
मन खिन्न भयो
सोचेँ-
न मैले साँचो बोलेँ न आमाले!
१३)अमर
एउटा फोका हुँ म
नचलाउनू
बस् हेरिरहनू
फुटिहालेंभने नरुनू
बस् मुस्कुराउनू र भनिदिनू
अब ऊ कहिल्यै फुट्नेछैन!
१४) बाँकी
केही बाँकी नराख्नू
फेरि जिन्दगीभर गुनासो हुनसक्छ
नमरुन्जेल चुकचुक हुनसक्छ
एउटा चुम्बन प्यारको
जतिबेला मन लाग्छ, दिनू
तर, बाँकी नराख्नू
पछुतो हुनसक्छ!
१५) इच्छा
मलाई माटोको एकदमै विश्वास लाग्छ
म उम्रने खालको रहेछुभने उमारिदिन्छ
नत्र कुहाइदिन्छ
मलाई एकपटक गाडिदिनुहोला र
हेर्नुहोला!
१६) परिचय
म को हुँ
कहिल्यै नसोध्नू
म को हुँ
आफूलाई सधैँ सोधिरहनुहोला!
१७) विश्वास
विश्वास नगरेपनि हुन्छ!
अहिले म केवल
शास फेरिरहेको छु
बाँचिरहेको छैन!
१८) पहिचान
ट्वाइलेटलाई भान्सा बनाएपछि
ट्वाइलेटले भन्यो-
"मेरो पहिचान हरायो!"
१९) छाउपडी
च्याउले एकदिन रुँदै भन्यो-
"म र ऊ, सँगै छिरेका थियौँ
यो उकुसमुकुस कोठामा
उ त्यहीँ मरी
म उसको छातीमा उम्रिएँ!"
२०) दरिद्रता
यो दुनियाँ मलाई हेर्न कहिलेकाहिँ आउँछ
र, मेरा कामुक तस्बीर खिचेर लान्छ
जानेबेला भन्दैन-
"समय मिलाएर आउनू है हाम्रोमा!"
२१) प्रेम
असाध्यै मन परेको ढुकुरको बचेरो
मैले उसको आमा नभएको मौका छोपेर गुडँबाट उठाएँ
उसलाई प्रेमले खुवाउनु खुवाएँ
भोलिपल्ट बिहान-
ऊ गाँड फुटेर मर्यो!
२२) बिछोड
आधारातमा निस्केर गएकी उसलाई
म यति धेरै सम्झिन्छुकि
मलाई थाहै हुँदैन-
के ऊ साँच्चै गएकी हो?
२३) विरोधाभाश
मेरो स्कुल छेवैमा एउटा भट्टी छ
जहाँ साँझपख विद्वतसभा हुने गर्दछ
र, स्कूलको भित्तो जहिल्यै रक्सी-पिसाबले नुहाउँछ!
२४) क्रान्ति
आजभोलि-
भात पकाउने, लुगा धुने, घर सफा गर्ने, इत्यादि कुराले
आन्दोलन व्यापक चर्केको छ!
क्रान्ति सफल होलाजस्तो छ।
२५) भनसुन
अति गरेपछि
एउटा पत्रिकाले कविता भनेर छाप्यो
जुन गजल थियो!
२६) राममान काका
उनी भेटिन्छन् आजभोलि यथार्थमा
देखावटी त त्यो बेला थियो
जुनबेला उनी क्रान्तिमा थिए!
२७) राजनीति
खेत बेचेर चुनाव जितेको अहिले उसको
बेचेरै नसकिने जग्गाजमिन छ
वाह, क्या व्यापार!
२८) आमा
ठूलो पहाडले
थिचिएर बसेकी जमिन
जुन पहाडको नाम हो, बा!
२९) बा
विशाल ममता बोकेको
जमिनमा उभिएका एक उदाशीन विम्ब
वास्तविकताको दह्रो खम्बा भएपनि
साहित्यका सिमान्तकृत पात्र!
३०) सन्तान
जमिन टेकेर पहाड उक्लँदै गरेका सिसिफस
जो भोलि पहाडनै जमिन बन्नुपर्छ
भन्नेमा अनभिज्ञ छन्!
