त्यही गाउँको एउटा पुरानो घरमा रहेको चिया पसलमा रामसिंह बोहरा चुलो बाल्दै थिए।
रामसिंह जसले बैतडीको चर्चित बलात्कार घटनामा पीडित भएकी छोरी पूजाका लागि ८ वर्षसम्म निरन्तर न्यायको लडाइँ लडिरहे । ‘ढिलै भए पनि न्याय पाइयो,’ उनले भने, ‘बिहान गाउँकै एक जनाले सुनाए, छोरीले न्याय पाउने भई रे।’
आजको कान्तिपुरमा बैतडीबाट तृप्टि शाहीले लेखेको समाचार अनुसार उनका दुई घर रहेछन् । एउटा पसल नजिकै, अर्को अलि तल । ‘म बिहानै आइहालेँ, घर गएर छोरीलाई भेट्नै पाएको छैन,’ उनले भने, ‘उसले थाहा पाई कि पाइन।’
सर्वोच्च अदालतले बिहीबार आरोपितलाई निर्दोष ठहर गर्ने पुनरावेदन अदालतको फैसला उल्ट्याएको खबर देशभर फैलिइसकेको थियो । रामसिंहले भने भोलिपल्ट बिहान मात्र थाहा पाए । उनले भने, ‘न फोन छ, न रेडियो।’
घरसम्म जाँदा करिब १५ मिनेट पैदल यात्रामा उनले आफ्ना पीडा एकोहोरो सुनाए । ०६८ सालमा बुबाको वार्षिक श्राद्धकै दिन छोरीमाथि घटना भएको उनले सम्झिए । ‘बुबाको वार्षिकीकैदिन छोरीको उपचारका लागि काठमाडौं जानुपर्यो,’ उनले भने, ‘धपेडीले म पनि बिरामी परेको थिएँ तर भाग्यले बाँचेँ।’
उनलाई रक्षा नेपाल संस्थाले साथ दियो । छोरीका लागि मुद्दा लडे । जिल्ला अदालतले दोषीलाई सजाय सुनाएपछि न्याय पाएको महसुस गरे । केही समयपछि पुनरावेदन अदालत महेन्द्रनगरले जिल्लाको फैसला उल्ट्याइदियो । ‘पीडामाथि फेरि पीडा थपियो,’ उनले भने, ‘न्यायको आस मर्यो ।’
एकातिर न्यायको लडाइँ, अर्कातिर छोरीको भविष्यको चिन्ता । यसबीचमा उनले धेरै हन्डर खेपे । धेरैले कुरा काट्दै हिँडे । मिल्नुपर्छ भने ।
लाखौं पैसा दिन्छौं भनेर प्रलोभन पनि दिए । छोरीको लालनपालन र पढाउने जिम्मा लिएको संस्थाले बीचमै साथ छोड्यो । तैपनि उनी डगमगाएनन् । बरु बलियो भएर न्यायका लागि लडिरहे।
पढाइ खर्च नतिर्ने भनेपछि उक्त संस्थासँग संघर्ष गरेरै वाचा पूरा गर्न लगाएको उनले सुनाए । ‘केही महिना संस्थाले दिएको पैसाले खर्च चलाएँ,’ उनले भने, ‘त्यसपछि खेती किसानी र यही चिया बेचेर छोराछोरीको पढाइ खर्च धानेको छु ।’ पूजा कानुन विषय पढिरहेकी छन् । अरू छोराछोरी पनि पढ्दै छन्।
१३ वर्षकी छोरीको न्यायका लागि दुःख पाए पनि अहिले खुसी लागेको उनले बताए । ‘अब दोषीलाई कारबाही भएको देख्ने मन छ,’ घरको आँगनमा टेक्दै गर्दा उनले भने ।
घर पुग्नासाथ उनले छोरीलाई सोधे, ‘थाहा पायौ त सर्वोच्चको फैसला ?’ प्रश्न नसकिँदै पूजाले भनिन्, ‘हिजै साँझ वकिलले सुनाइसक्नुभएको थियो।’
उनको मुहारमा खुसी भरिएको थियो । पीडालाई जितिसकेको अनुभव गर्न सकिन्थ्यो । आफूमाथि भएको घटना सम्झन पनि नचाहेको बताउँदै आएकी उनले भनिन्, ‘न्याय त पाइयो । सबैले फोनबाट बधाई दिइरहेका छन् । घरपरिवार खुसी छन्।’
दसैंतिहारका लागि घर आएकी उनले काठमाडौंमा साथीहरूले खुसी मनाएको बताइन् । ‘पढाउने सरहरूले पनि खुसी साटिरहनुभएको छ,’ उनले भनिन्, ‘तैपनि ८ वर्षसम्म न्याय नपाउँदाको पीडा पूरै भुल्न सकेकी छैन।’
सबैले थाहा पाएको, पहुँचमा पुगिसकेको घटनामा न्याय पाउन यतिका वर्ष लाग्यो, बोल्नै नसक्ने दिदीबहिनीको अवस्था कस्तो होला भनेर सोच्ने गरेको उनले बताइन् । उनी बीएल चौथो वर्षमा पढ्दै छिन्।
०६८ चैत ९ गते ठूलोबुबाकी छोरीका घरमा बसेर बैतडीको पाटन बजारमा एसएलसी दिन गएका बेला उनीमाथि कहालीलाग्दो घटना भएको थियो । ‘करिब ७ वर्ष दुःखकष्टका साथ बिते,’ उनले भनिन्, ‘१३ वर्षकै उमेरमा अदालत धाएँ । पत्रकारलाई जवाफ दिएँ । आश्रय दिएको संस्थामा पनि कोही आयो कि म फलानो भनेर रुँदै पीडा सुनाउन लगाइन्थ्यो।’
जिल्लाले दिएको न्याय पुनरावेदनले फेरि खोस्यो । ‘अहिले सर्वोच्चले पुनरावेदनको फैसला उल्ट्याएकामा खुसी लागेको छ तर पाउनु दुःख पाएँ,’ उनले भनिन्, ‘मैले मात्र कहाँ हो र, घरपरिवारले पनि दुःख पाए । सधैं तनाव र त्रासमा रह्यौं।’
घटनापछि उपचार गर्न काठमाडौंमा रहेका बेला परिवारलाई समेत जानकारी नदिई प्रहरीले हल्लाका भरमा मुचुल्का बनाएर पेस गरेकामा उनको असन्तुष्टि छ। रक्षा नेपालमा बसेर १२ कक्षा उत्तीर्ण गरुन्जेल र ३ वर्षसम्म कानुन पढ्दासमेत पीडामाथि पीडा दिइएको उनले बताइन् । ‘सम्झनै नचाहेको घटना कोट्याएर, भन्न लगाएर बारम्बार रुवाइयो,’ उनले भनिन्।
बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सरकारले उपचार खर्च भनेर दिएको १ लाखबाहेक अन्य कुनै सहयोग नपाएको उनले बताइन् ।
पढाइ सकेर वकिल बन्ने र हिंसामा परेका महिलालाई सहयोग गर्ने चाहना उनको छ । ‘एक दिन न्यायाधीश बनेरै छोड्छु,’ उनले भनिन्, ‘अरू चेलीले न्यायका लागि मैलेजस्तै संघर्ष गर्नुपर्ने अवस्था अन्त्य भएको दिन पूर्ण न्याय पाएको महसुस गर्नेछु।’