बिहीबार दिउँसो स्थानीय र प्रहरीबीच झडप हुँदा सुरज पाण्डे मारिएका थिए । सीमा क्षेत्र बढनीमा घर भएका सुरजकुमार पाण्डेको प्रहरीको गोली लागेर मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए ।
लक्ष्मीपूजाको मूर्ति बिसर्जन गर्न मस्जिदको बाटो हुँदै जान रोक लगाइएपछि सुरु भएको भनाभनले झडपको रुप लिएको हो । झडपपछि कृष्णनगरमा प्रशासनले अनिश्तिकालिन कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको हो ।
स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मको लागि कर्फ्यु आदेश जारी गरेको हो । प्रदर्शनकाक्रममा केही व्यक्ति घाइते भएका छन् । कृष्णनगरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।