उक्त विमानस्थल झन्डै सात लाख वर्गमिटर क्षेत्रमा फैलिएको चाइना डेलीले जनाएको छ। अर्थात् विमानस्थल ९८ वटा फुटबल मैदानजत्रो ठूलो छ। एअरपोर्ट काउन्सिलका अनुसार बेइजिङको पुरानो विमानस्थल विश्वकै दोस्रो अतिव्यस्त विमानस्थल हो। एट्लान्टा विमानस्थल व्यस्त विमानस्थलहरूको सूचीमा शीर्ष स्थानमा छ।
तर बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा यात्री र विमानहरूको चाप बढेकाले नयाँ विमानस्थलको आवश्यकता भएको सरकारी अधिकारीहरू बताउँछन्। डाशिङ विमानस्थलमा एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल भएको बताइन्छ।
सन् २०२५ सम्म बेइजिङ आउने अनुमान गरिएका १७ करोड मानिसमध्ये उक्त विमानस्थल हुँदै धेरैजना आउने अपेक्षा गरिएको छ। नयाँ विमानस्थलबाट बुधवारदेखि सातवटा आन्तरिक विमानसेवाले उडान सुरु गर्ने ग्लोबल टाइम्सले जनाएको छ।
ब्रिटिश एअरवेज, क्याथे प्यासिफिक, फिनएअर र अन्य अन्तर्राष्ट्रिय विमानसेवाले पनि डाशिङमा आफ्नो विमान चलाउने घोषणा गरिसकेका छन्। यो नयाँ विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले बनाएका हुन्।