काठमाडौँ, २४ असोज ।
बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा एक नेपाली चेली अहिले आकर्षणको केन्द्र बनेकी छन् । उनको नाम हो रश्मी निरौला । रश्मीले पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिल पदमा बेल्जियमको दोस्रो ठुलो पार्टी सिडी एन्ड भीबाट उम्मेदवारी दिएकी नेपाल समाचारपत्रमा खबर छ ।
बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवासीहरुको ठुलो बासोबास रहेको लुभेन नगरमा गैरबेल्जियम समुदायका उम्मेदवारमध्ये उनको विजयलाई धेरैले निश्चित मानेका छन् । त्यसैगरी बेल्जियमको दोस्रो ठुलो शहर आन्त्वरपेन नगरपालिकामा पनि सीडी एन्ड भीले नेपाली चेली लीला शर्मा मानन्धरलाई सशक्त उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उतारेको छ । धेरै बर्षदेखि सामाजिक कार्यमा संलग्न मानन्धर विजयी हुने निश्चित मानिएको छ ।
