-राजु झल्लु प्रसाद
उधारोमा ऋण लिइ
पोहोर साल पनि दशैं मान्न नआएको छोरो भेट्न
शहर जान तयार बाजेले
निस्कँदानिस्कँदै आफ्नो कमिजमा भैंसीको गोबर लत्पतिएको देखेपछि
परारसाल छोराले शहरबाट लेराएको सरफ निकाले
र, आफ्नो मैलो कमिज बारबार घोटिरहे
कमिज ध्वार्र च्यातियो
च्यातिएको कमिज फेर्न जाँदाजाँदै
आँसुले भिजेको सारीको सप्कोले
आफ्नो छोराको फोटो सफा गरिरहेकी आफ्नो बुढीतिर हेर्दै भने,
"ओइ कालेकी आमा
त्यो शहरले हाम्रो छोरालाई
कति ठाउँमा च्यातेको होला है!"