-रोशन यक्सो
पश्चिम क्षितिजमा डुब्दैगरेको
बूढो घाम भन्दैथियो -
डुबिनंभने म अहिले
कसरी उदाउँछ अको॔ विहानी ?
कसरी सुरु हुन्छ जिन्दगीको नयाँ अध्याय ?
चर्को घाममा दिनभर तात्तिएको
सागर भन्दैथियो -
बाफिएर बादल बनेर आकाशबाट
म बषि॔नंभने बेलाबेला
कसरी चल्छ यो शृष्टि ?
कसरी बाँच्छ यो जगत ?
शिशिर याममा पुरै नाङ्गिएको
वनपाखा भन्दैथियो -
अहिले म भइनंभने उजाड/उदास
अहिले म भइनंभने नाङ्गेझार
कसरी पलाउँछ नयाँ पालुवा ?
कसरी आउँछ वसन्त हरियाली ?
एउटा शिल्पकारको हातमा परेको
पत्थर भन्दैथियो -
मैले खपिनंभने छिनोको मार
मैले सहिनंभने अलिअलि चोट
कसरी बन्नसक्छु अजर/अमर कृति ?
कसरी बन्नसक्छु एउटा सुन्दर मूर्ति ?
असारमास आफ्नो कर्ममा व्यस्त
किसान भन्दैथियो -
घिनाएँभने म यो हिलोसँग
बगाइनंभने अहिले पसिना
कसरी भित्र्याउँला मंसिरमा सुनका दाना ?
कसरी पुरा गरूँला जनजनको बाँच्ने चाहना ?
फाँसीको फन्दामा लट्कनुअघि
क्रान्तिकारी योद्धा भन्दैथियो -
अहिले दिइनंभने मैले बलिदान
अहिले भइनंभने म सहादत
कसरी पाउँछ यो देशले मुक्ति ?
कसरी आउँछ सुनौलो बिहानी ?
मध्यरातमा राहुल र यसोधरा छोड्नुअघि
सिद्धार्थ भन्दैथियो -
अहिले छोडिनंभने मैले दरबार
अहिले त्यागिनंभने मैले घरबार
कसरी प्राप्त गरुँला बुद्धत्व ?
कसरी बनुँला म बुद्ध ?
यत्रो मनकारीहरुको भिडमा
यत्रो त्यागीहरुको बीचमा
उमात्र यस्तो भेटेँ
जो भन्दै थियो -
अहिले कुम्ल्याइनंभने भेटेजति
अहिले सोहोरिनंभने पाएजति
कसरी गर्नु मैले मोजमस्ती ?
कसरी धान्नलान् मेरा सातपुस्ता ?
र, ऊ को हो ?
त्यो तपाईंलाई नि थाहा छ !