ललितपुर: किरात राई यायोक्खाको ३१औं स्थापना दिवसमा प्रमुख अतिथीका रुपमा बोल्दै नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रदेश नम्बर एकलाई किरात प्रदेश नामाकरणका लागि आफू एक्लैले भएपनि अन्तिम समयसम्म सङ्घर्ष गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। ललितपुरको मानभवनस्थित क्रिस्टल पार्टी प्यालेसमा सम्पन्न भव्य कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले नेपालमा किरातीहरुको इतिहासलाई कुनैपनि हालतमा ईन्कार गर्न नसकिने कुरा बताएका छन्। किरात प्रदेश नामाकरणको मुद्दा एउटा जातीय मुद्धा नभएको र यसलाई अहिलेको आवश्यकताका रुपमा बुझिदिन सबैलाई अनुरोधसमेत गरेका छन्। प्रदेश नम्बर एकमा किरात प्रदेश स्थापनाको विषयमा प्रधानमन्त्री केपी ओलीको पनि आफ्नोजस्तै धारणा रहेको जानकारी सो कार्यक्रममार्फत प्रचण्डले दिएका छन्।
आजैमात्र विरगञ्जको कार्यक्रममा सरिक भएर काठमाडौं फर्केका प्रचण्ड यायोक्खाको कार्यक्रममा डेढघण्टा ढिलो पुगेका थिए। मौसमको खराबीका कारण सिमरा-काठमाडौंको फ्लाइट डिले भएकोले आफू समयमा आउन नसकेको कुरा उनले सबैलाई अवगत गराएका थिए। कार्यक्रममा यायोक्खाको तर्फबाट प्रचण्डलाई किराती संस्कृतिको प्रतीक चिण्डो उपहार दिइएको थियो।
कार्यक्रममा नेकपाका नेता सुरेशकुमार राई 'हिमाल'ले किरात प्रदेश स्थापना गर्न निर्णायक कदम चाल्ने कुरामा सबै किरातीहरुले एकजुट भएर प्रचण्डलाई सहयोग गर्नुपर्ने व्यहोराको अपिल गरे। त्यस्तै यायोक्खाकी सल्लाहकार दुर्गा राईले प्रचण्डमात्रै सम्पूर्ण किरातीहरुको भरोसाको केन्द्रबिन्दु भएकाले किरात प्रदेशका लागि अन्तिम पहल गरिदिन अनुरोध गरिन्।
कार्यक्रमका दौरान यायोक्खाअन्तर्गत रहेका विभिन्न अक्षय कोषबाट समाजका सबै क्षेत्रका प्रतिनिधी पात्रहरुलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको थियो। त्यस्तै, यायोक्खाले किरात समुदायको हितमा काम गरिरहेका संचारकर्मीहरुलाई पनि सम्मान गरेको थियो।
विविध सांस्कृतिक प्रस्तुतीका साथ प्रदेश नम्बर एकका हजारौं प्रदेशबासीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको मूख्य ध्येय प्रदेश नम्बर एकलाई किरात प्रदेशको नामाकरणमा केन्द्रलाई ठोस दबाव दिनु थियो। कार्यक्रममा अतिथीका रुपमा निम्त्याइएको भएतापनि नेताहरु अशोक राई, गोपाल किरातीलगायतभने अनुपस्थित थिए।
