मंसिर १४ गते हुने उपनिर्वाचन लागि आयोगले कात्तिक ८ गतेदेखि आचारसंहिता लागु भइसकेको छ । नेपाल सरकार तथा राजनीतिक दलहरुबाट प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्यको उपनिर्वाचनको सुव्यवस्थापनमा आफ्नो अग्रणी भूमिका रहेको तथ्यलाई आत्मसात गरी आयोगले जारी गरी कार्यान्वयनमा ल्याएको आचारसंहिताका बुँदाहरुको अक्षरशः पालन गर्न तथा निर्वाचनका सरोकारवालाहरुबाट समेत पालना गराउन सदैव मन, वचन र कर्मले प्रयत्नशील रहिरहने भनी मिति २०७६।०७।१४ मा प्रतिबद्धतापत्रमा हस्ताक्षर भइसकेको छ ।
“आयोगले लागु गरेको आचारसंहिता पूर्णरुपमा पालना गर्न गराउन निर्वाचन आचारसंहिता, २०७२ मा उल्लेख भएका बुँदाहरु नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सार्वजनिक संस्था, राजनीतिक दल, सम्बन्धित व्यक्ति, उम्मेदवार, आमसंचार माध्यम, निजी तथा गैर सरकारी संस्था तथा पर्यवेक्षक र उपनिर्वाचन हुने स्थानका कर्मचारी समेतले पालना गर्नु गराउनु उपनिर्वाचन सरोकारवाला पक्षको कर्तव्य रहेको छ ,” विज्ञप्तिमा उल्लेख छ ।
चालु आर्थिक वर्ष २०७६-०७७ को बजेट तथा कार्यक्रममा समावेश भएको स्थानीय पूर्वाधार विकास साझेदारी लगायतका कार्यक्रमहरु मार्फत योजना छनोट र बजेट बाँडफाँट गर्ने विषयमा आचारसंहिता लागु भएका जिल्ला र स्थानीय तहमा योजनाको छनोट, स्वीकृति र सञ्चालन कार्य नगर्न नगराउन र निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न गराउन आयोगले निर्देशन दिएको छ ।
कास्की–२ मा प्रतिनिधि सभा सदस्य, भक्तपुर, वाग्लुङ्ग र दाङ्गमा प्रदेश सभा सदस्य र स्थानीय तह सदस्यको उपनिर्वाचन हुँदैछ ।