नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको बताए । दल दर्ता सम्बन्धी सम्पुर्ण काम गर्न महासचिव बिष्णु पौडेललाई जिम्मेवारी दिईएको छ । दर्ता भएको दलहरुको रेकर्डमा नेपाल कम्युनिस्ट पार्टी भन्ने दल नरहेकोले दल दर्ता गराउने निर्णय भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी कोष्ठ भित्र नेकपा लेखिने गरि निर्वाचन आयोगमा दर्ता भए पनि यो दलले निर्वाचनमा भाग लिएको छैन। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि दल दर्ता गराउनु परेको हो।
निर्वाचन आयोगले उपनिर्वाचनको लागि नयाँ दलहरुका लागि भदौ मसान्त सम्मको समय तोक्दै सूचना प्रकाशित गरिसकेको छ। यस्तै बैठकमा पार्टी एकताका बाँकी काम अगाडि बढाउने बिषयमा सामान्य छलफल भए पनि कुनै निर्णय नभएको प्रवक्त श्रेष्ठले बताए ।
बैठकमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ चाँडै नै नेपाल भ्रमणमा आउने जानकारी गराए । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण राष्ट्रपति सी जिनपिङको भ्रमणको तयारीका लागि भएको बैठकमा जानकारी गराए ।
‘चिनियाँ विदेशमन्त्रीको भ्रमण नै राष्ट्रपति सीको भ्रमणको तयारीका लागि भएको हो, राष्ट्रपति सी चाँडै नेपाल आउने अपेक्षा गरेका छौं’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने । तीन दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङ मंगलबार बेइजिङ फर्केका छन्।