एउटै जिल्लाका ७४ प्रतिशतसम्म विद्यार्थीको विवरण गल्ती भेटिएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको एसइईको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
‘एउटाको जम्ममिति, नाम अर्कैको छ, एउटाको सिम्बोल नम्बर भए नाम र जन्ममिति अर्कैको छ,’ परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘यस्ता धेरै समस्या छन् । दैनिक पाँच सयसम्म विद्यार्थी पनिका आउने गरेका छन् । धेरैले दुःख पाएका छन् । हिजोआज पनिकाका कर्मचारी तिनै विद्यार्थीका विवरण सच्याउनमा व्यस्त छन् ।’
विद्यार्थीको नाम, थर र जन्ममिति मात्रै बिग्रिएको छैन । एउटा विद्यालयमा अर्को विद्यालयका विद्यार्थीको नाम राख्नेसम्मको लापरबाही भएको छ। यो खबर आजको नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन्।
रूपन्देही, ओखलढुंगा र धनुषाका विद्यार्थीको विवरणमा धेरै त्रुटि देखिएको पनिकाले जनाएको छ । रुपन्देहीमा करिब तीन हजार विद्यार्थीको नाम, थर र जन्ममिति गल्ती रहेको नियन्त्रक खकुरेलले बताए।
ओखलढुंगामा करिब २३ सय विद्यार्थी छन्, तीमध्ये करिब १७ सयको विवरण त्रुटि छ। त्यस्तै, धनुषालगायत जिल्लामा पनि गल्ती भएका छन् । गल्ती विवरण सच्याउन विद्यार्थीले एक हप्तासम्म पर्खिनुपरेको छ। पनिकामा कम्प्युटरमा विवरण सच्याउने जनशक्ति अभाव भएकाले पनि लामो समय कुर्नुपरेको छ।
‘स्कुलको सबैको बिग्रेको छ भने एक–एकजना विद्यार्थी नपठाउन भनेका छौँ । सबै विद्यार्थीको एकमुष्ट फारम ल्याउन र पनिकाबाट एकमुष्ट सच्याएर पठाउँछौँ भनेका छौँ,’ परीक्षा नियन्त्रक खकुरेलले भने, ‘जिल्लाबाट काठमाडौं आउँदा एउटा विद्यार्थीको हजारौँ खर्च हुने गरेको छ । हामीले सबैसम्म छिटो सच्याएर उपलब्ध गराएका छौँ।’